मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । आजबाट सुरु हुने प्रदेशसभाको सोह्रौँ अधिवेशन अन्तर्गत पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो ।
प्रदेश सभाको अधिवेशनको पहिलो दिन विशेष समयको कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । संसद्को विशेष समयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका नेताले शुभकामना दिने कार्यसूची रहेको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने र संसदीय समितिबाट पारित भएका ४ विधेयकको प्रतिवेदन पेस गर्ने कार्य सूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
यता आइतबार सम्पन्न सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति हुन नसक्दा विपक्षी दलहरू संसद् सञ्चालन हुन नसक्ने बताउँदै आएका छन् । आइतबार साँझ करिब ३ घण्टा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति जुट्न नसक्दा संसद् चल्न नसक्ने चेतावनी दिएका हुन् ।
Comments