काठमाडौँ, २६ माघ ।
राष्ट्रियसभामा कार्यकाल सकिन लागेको सांसदहरुले यस अवधिमा आफूले गरेका काम र अनुभव बारेमा जानकारी गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले बैठकमा काम गर्ने सिलसिलामा केही असल परम्परा र मानक स्थापना गरेको बताउनुभएको छ ।
बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद बेदुराम भुसालले राष्ट्रियसभा प्रबुद्धसभा भएको र सोही अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले सभाले समाजिक तथा सांस्कृतिक रुपान्तरण चलाउन नसकेको, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनाका आवाज मुखरित गर्न नसकेको बताउँदै कोरानाकाल, विभिन्न दलको अवरोध, आफूले मन्त्री पद सम्हाल्दाको समयमा भने प्रभावकारी रुपमा सहभागी हुन नसकेको अवगत गराउनुभयो ।
उहाँले विधायन व्यवस्थापन समितिमा बसेर काम गरेको, कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अनुभव सुनाउनुभयो । संविधानअनुसार बन्न बाँकी कानुनको प्रतिवेदन तयारीमा काम गरेको, नियमित बैठकमा आफ्ना धारणा र सङ्कल्प प्रस्तावमा मन्तव्य राखेको सांसद भुसालले बताउनुभयो ।
सभाले महत्वपूर्ण कानुन निर्माणमा केही मानक स्थापना गरेको बताउँदै उहाँले कानुन निर्माण अझै केही परम्परागत ढाँचा रहेकाले त्यसलाई तोड्न आवश्यक रहेको औँल्याउनुभयो । नेकपा (एमाले)का इन्दिरादेवी गौतमले सभाका नियमित बैठकमा प्रभावकारी सहभागिताका साथै विधेयकमा संशोधन पारित गर्न सहभागिता जनाएको संविधानका मर्मलाई केन्द्रमा राखेर कानुनमा संशोधन र कानुन निर्माणमा भूमिका निर्वाह गरेको अनुभव सुनाउनुभयो ।
त्यस्तै उहाँले सङ्घीयता सबलीकरणसम्बन्धी समितिमा रहेर महत्वपूर्ण काम गरेको, कानुन बनाउने र जनजीविकाका सवालमा विषय उठान गरेर सरकारलाई जिम्मेवार बनाएको बताउनुभयो । सांसद गौतमले विकास निर्माणमा देखिएका असमानतालाई सम्बोधन गर्ने आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको, विभिन्न मतभेदका बाबजुद पनि सभामा सहमति कायम गर्ने परम्परा स्थापित हुनु सकारात्मक विषय भएको बताउनुभयो ।
यस अवधिमा उहाँले सभाका निर्देशन र सङ्कल्प प्रस्ताव कार्यान्वयन नभएको, बैठकका निर्देशन तथा सुझाव कार्यान्वयन नभएको बताउँदै अनुगमन प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देखिएको नवयुवाको असन्तुष्टि सम्बोधन गर्न सुशासन कायम गर्नुपर्ने, भ्रष्टचारको अन्त्य गर्नुपर्ने बताउँदै उहाँले भदौ २४ गतेको विध्वंशात्मक कार्य कसरी भयो भन्ने बारेमा सबैले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
साथै उहाँले आगामी दिनमा त्यस्ता घटना नदोहोरिनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सभाका बैठक कतिपय अवस्थामा आरोपप्रत्यारोपमा अलमलिएको पनि आफूले पाएको बताउँदै उहाँले कानुन बनाउँदा देश र जनताको आवश्यकता र संविधानको मर्मअनुसार गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले यस अवधिमा अपेक्षाअनुसार काम गर्न नसकेको भए पनि सभामा राम्रै तिथि बसाल्न सफल भएको बताउनुभयो । सहमति र समयमै बैठक सञ्चालन भएको दलगत प्रभावभन्दा माथि उठेर कानुन निर्माणमा भूमिका खेलेको उहाँको भनाइ थियो ।
सबै प्रदेशमा एकसाथ निर्वाचन क्षेत्रमा कार्यक्रम लिएर जाने गरी बैठक सञ्चालन गर्ने सकारात्मक कार्य यस अवधिमा भएको र सङ्घीय कार्यान्वयन अध्ययनसम्बन्धी सङ्कल्प प्रस्ताव पारित भएको सांसद शर्माले अवगत गराउनुभयो । यस अवधिमा विभिन्न समयमा सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको सभापति भएर समेत महत्वपूर्ण काम गरेको बताउँदै उहाँले १७५ सभाको बैठक बसेको तर कहिल्यै पनि कोरम पनि नपुगेर बैठक बस्न नसक्ने अवस्था नआएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय महत्वका विषय तथा पुरातात्विक विषयको खोजी, संरक्षण तथा स्थलगत अध्ययन गरिएको जानकारी गराउँदै उहाँले केही प्रदेश सभा र स्थानीय तहसँग छलफल तथा अन्तरक्रियासमेत गरिएको बताउनुभयो । साथै सांसद शर्माले सुशासनका लागि रचनात्मक भूमिका निर्वाह गरेको बैठकमा जानकारी दिनुभयो ।
Comments